संकटा क्लब काठमाडौँ झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । बिभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए ।
पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो । आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईंले प्रतियोगिताभर गरेका छन् ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकरले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ ।