काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गुरुकुलमा जातिय विभेद गर्न नहुने र दलित जनजाति लगायतका इच्छुक सबै जातजातिले गुरुकुलमा वेद पुराण पढ्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
समानता अभियान नेपालको आयोजनामा रिपोर्टर्स क्लब काठमाडौमा आयोजित गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढून् विषयक विचार गोष्ठीमा नेता भण्डारीले जातीय छुवाछूत सबै वर्ग र समुदायमा कुनै कुनै रूपमा विद्यमान रहेकाले कुनै निश्चित वर्ग वा समूदायलाई दोषारोपण गर्नु उपयुक्त नहुने बताउनुभएको छ।
नेपाली समाज रूपान्तरणमा शिल्पी समुदायको योगदान अतुलनीय रहेकोले सो समुदायलाई विभेद गर्न नहुने धर्ममा कुनै विभेद नभएको तसर्थ गुरुकुलमा हुने जातीय विभेद पनि सामाजिक कुप्रथा भएकोले यसलाई निराकरण गर्नुपर्ने र गुरुकुलमा सबै जात जातिले पढ्न पाउने अधिकार सुनिश्चित गरे यसले सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्याउने स्पष्ट पार्नुभयो।
कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही दिनबन्धु पोखरेल प्राज्ञ डा दिनेशराज पन्त राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव दलित अधिकारकर्मी डाक्टर मित्र परियार नेपाल दलित पार्टीका केन्द्रीय अध्यक्ष मेघराज विश्वकर्माले पनि गुरुकुलमा जातीय विभेद अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।