काठमाडौं । अष्ट्रेलियाका महान स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएपछि विश्वका क्रिकेटप्रेमी दर्शक तथा खेलाडी झैं बलिउड पनि स्तब्ध बनेको छ । बलिउड उनको निधनमा यसकारण पनि स्तब्ध छ कि त्यहाँ उनको बायोपिक बनाउने तयारी भइरहेको थियो ।
सन् २०१५ मा शेनलाई बलिउडमा अभिनयको प्रस्ताव गरिएको थियो । जुन विषयलाई उनले पनि पुष्टि गरेका थिए । एक टुरिज्म भिक्टोरिया कार्यक्रममा सहभागिता जनाइरहँदा उनले आफूलाई बलिउडबाट अभिनयको प्रस्ताव आएको र उक्त प्रस्ताव आफ्ना लागि सबैथोक भएको बताएका थिए ।
एक भारतीय प्रोडक्सन कम्पनीले शेनको बायोपिक बनाउने तयारी सुरु गरेको थियो । तर, कोभिड—१९ महामारीका कारण त्यो योजना तत्कालका लागि स्थगित गरिएको थियो । आफ्नो बायोपिकमा शेन अभिनेता लियोनार्दो डिकेप्रियो वा ब्राड पिटलाई प्रमुख भूमिकामा अभिनय गरेको हेर्न चाहन्थे ।
‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यहीकारण मूल रुपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ । मैले सन् २००८ मा रोयल्सलाई कसरी एकसाथ राखें भन्ने कथा फिल्ममा हेर्न पाइनेछ’, उनले भनेका थिए । उनका अनुसार फिल्मको नाम नै ‘हलिउड—आइस्ड’ राखिएको थियो ।