सुर्खेत १६ फागुन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा भोली मंगलबार सम्म कर्फ्यू आदेश जारी गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दमा प्रदर्शनकारी र प्रहरी बिच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो ।
स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिण मारत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन् । एमसीसीको विरोधमा आज देशभर बन्दको घोषणा गरिएको थियो ।