काठमाडौं १६ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाशक्तिसामु नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिएकाले बताएका छन् ।
नेता खनालले हिजो आइतबार नेपालको इतिहासमा राष्ट्रिय लज्जाको दिन भएको समेत टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस कार्यक्रममा उनले एमसीसीमा भएका सबै सच्चिन्छ भनेर पार्टीको नेतृत्व पंक्तिले ढाटेको भन्दै उनले कांग्रेसका महामन्त्री गगन थापालाई फुच्चे नेताले फजुल कुरा गरेको भन्दै आलोचना समेत गरेका छन् ।
‘सबै कुरा सच्चिन्छन् भनेर पार्टीका साथीहरुलाई हाम्रो नेतृत्वपंक्तिले ढाँट्यो । नेतृत्वपंक्तिले खुट्टा टेक्नुपर्नेमा महाशक्तिसामु घुँडा टेकेर राष्ट्रको हितलाई तिलाञ्जलि दिने काम भएको छ । नेपालको इतिहासमा हिजोको दिन राष्ट्रिय लज्जाको दिन हो ‘ नेता खनालले भने ।
आफ्नो पालामा एमसीसीको विषयमा कुन भएको थियो भन्ने नेता थापाको अभिव्यक्ति माथि आक्रोश पोखेका उनले भने, ‘झलनाथ खनालको पालामा एमसीसी कहाँ भएको थियो ? कसरी त्यो कुरा भएको छ ? दिवंगत नेता भरतमोहन अधिकारी अमेरिका गएर एमसीसी अघि बढाएको बोलेका छन् । आफूले घुँडा टेक्दा फलाना फलानाले पनि घँुडा टेकेका थिए भन्ने? आफ्नो गद्दारीलाई ढाकछोप गर्न अरुले पनि गद्दारी गरेका थिए भन्ने ? यस्तो पाजी वहसले हुन्छ ? प्रमाण छ भनेर भुक्नुभन्दा के के प्रमाण छ, त्यो बजारेको भए हुन्थ्यो नि । यस्ता मानिस भोलि सत्तामा पुगे भने के गर्लान् ?’