काठमाडौं ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसीसंसदमा अनुमोदन गराउन अन्तिम तयारीमा लागेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी राष्ट्रका हितमा भएको भन्दै कसैले डराउनुपर्दैन भनी एमसीसीको पक्षमा खुलेर लाग्न समेत भनिएको छ ।
बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेबहादुर देउवाले ‘एमसीसी राष्ट्रको हितमा छ । कसैसँग डराउनुपर्दैन, एमसीसीको पक्षमा खुलेर लाग्नुपर्छ’ भनेका हुन् ।
प्रधानमन्त्री देउवाको सचिवालयले एमसीसीबारे फैलिएको भ्रमलाई उजागर पार्न भन्दै ८ पृष्ठको ‘पर्चा’ समेत सार्वजनिक गरेको छ । कुनै सरकारी निकायको छाप र आधिकारिकता नभए उक्त पर्चा बालुवाटारबाट वितरण गरिएको हो ।
सो पर्चामा एमसीसीको पृष्ठभूमि, परिचय, संसदीय अनुमोदनको आवश्यकता एमसीसी के हो जस्ता विषय समेटिएको छ । बालुवाटार पुगेका केहि पत्रकारहरुलाई समेत उक्त पर्चा दिइएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सरकारको आधिकारिक धारणाका रूपमा सार्वजनिक गर्न चाहेको बताइएको छ ।