तनहुँमा चौथो पटक निषेधाज्ञा लम्ब्याइयो,थप कडाई गर्न अनुरोध — OSNepal

तनहुँमा चौथो पटक निषेधाज्ञा लम्ब्याइयो,थप कडाई गर्न अनुरोध

LC (KTM) June 04, 2021 0

तनहुँ – कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

जिल्ला गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, यही जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ ।

तीन प्रयोगशाला बन्द:- दमौलीमा सञ्चालनमा रहेको तीन प्रयोगशाला प्रशासनले बन्द गराएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका तीन प्रयोगशाला प्रशासनले बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा केही दिन अगाडी गरिएको अनुगमन पश्चात् चार प्रयोगशाला तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । बन्द भएकाप्रयोगशालालाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिएपछि व्यास डायग्नोष्टिक प्रालिले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

युआरएलको दमौली र दुलेगौडा तथा गणेशमानचोकमा सञ्चालित दमौली प्याथ ल्याबलाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिइने बरालले जानकारी दिनुभयो । प्रशासनले अनधिकृत रुपमा पिसिआर स्वाब लिने काम समेत बन्द गर्न निर्देशन दिएको छ । “सबैले अनुमति ल्याउने प्रकृयामा रहेको जानकारी गराउनुभएको छ, अनुमतिपत्र ल्याएर प्रशासनलाई बुझाएपछि मात्रै सञ्चालन गर्न दिइनेछ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर