काठमाडौं २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु रणनैतिक सोचका साथ अगाडि बढेको बताएका छन् ।
मंगलबार खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित एक कार्यक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’लगायत नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति हुन सक्ने भन्दै पछि कुरा बुझेकाहरु पार्टीमा प्रवेश गर्न थालेको बताएका हुन् ।
प्रचण्डले भने , ‘नेतृत्वले अलि परसम्म हेरेर मुलुक र जनताको हितमा आफ्नो पार्टी र वर्गको हितमा घुम्ने कार्यनीति लिएर आयो । साथीहरु त्यो घुम्तीहरुमा झुक्किनुभयो र छुट्नुभयो । यो कुरालाई बुझ्नु भएन’।
नेकपा एमालेमा प्रवेश गरेका नेताहरुलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले केहि साथीहरुमा भ्रम सिर्जना भएर पार्टीबाट निस्कने काम भएको आफुले पनि बुझाउन नसकेको बताएका उनले भने,’दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा साथीहरुले बुझ्दै जानु भएको छ ‘।
‘क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किने क्रम जारी छ, साथीहरु घर फर्किनुभयो, धेरै राम्रो भयो । म अरु साथीहरुलाई पनि घर फर्किन भन्छु । एकै ठाउँमा आऔं ।’