माझखर्क । ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स पढ्ने रहर जागेको थियो ।
तर, विडम्बना स्टाफ नर्स बन्ने सपना बोकेकी दशौदीको आजभोलि भाइबहिनीको रेखदेख र घरायसी काममा अधिकांश समय बित्ने गरेको छ । २०७२ सालमा आमा मनीषाको मृत्युपछि घरायसी कामको बोझ भुवानसराको थाप्लोमा थोपरिएको हो । भुवानसरा पढाइमा राम्रो छात्रा हुन्, तर आजभोलि घरायसी कामको बोझले पहिले जस्तो पढाइ नभएको शिक्षक भिमबहादुर भण्डारीले जानकारी दिए । कसैले आफूलाई सहयोग गरेमा स्टाफ नर्स पढ्ने सपना पूरा हुनेमा आशावादी छन् ।
बिहान उठ्नेबित्तिकै ढिकी जाँतो, चुलोचौकामा उनको समय बित्छ । भाइबहिनीलाई खाना खुवाएर स्कुल पठाइसकेपछि मात्र आफू पढ्न जान्छन् । आर्थिक अवस्था कमजोर हुँदा भुवानसराका दाजु हिमराज दशौदीले विद्यालय जानका लागि कापी, कलम र झोलाको जोहो गर्न नसक्दा विद्यालय जान छोडिसकेका छन् ।राजधानी दैनिकमा छापिएको छ ।
हिमराजले विद्यालय छोडेको चार वर्ष भयो । दाजु हिमबहादुरले त पढाइ छोडे । अब मेरो पढाइ पनि हुँदैन जस्तो लागेको छ । भाइबहिनीलाई पढाउनुप(यो, भुवानसराले पीडा सुनाइन् । आमा बिरामी हुँदा घरमा धेरै ऋण लागेको छ । दशौदी परिवार अहिले त्यो ऋण कसरी तिर्ने चिन्तामा छन् ।