मोरङ– मोरङको पथरीमा सम्पती हडप्न छोराले आफ्नै आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले सम्पतीको लागि आफ्नै आमाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
इलका प्रहरी कार्यालय पथरीले ९० वर्षिय जगमाया श्रेष्ठको हत्या गरेको आरोपमा कमललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका कमल कान्छा छोरा हुन् । जगमायाको चार छोरा छन् ।
उनी कान्छा छोरा कमलसँग बस्दै आएकी थिइन् । कमलले आमाको १२ माघ विहान ३ बजे घाँटी थिचेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको इप्रका पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।
कान्छा छोराले सम्पती हडप्न आमाको हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । आमाको हत्या गरेको पाँच दिनपछि कान्छा छोरा कमल पक्राउ परेका हुन् । प्रहरीले उनलाई अन्तेष्टि गरेपछि सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतिको नाममा बनाएका थिए । बुवाको मृत्यु भएपछि कमलले आमाको नाममा जग्गा पास गराउने भनिएका थिए ।
तर, आमालाई झुक्याएर कमलले श्रीमतिको नाममा जग्गा पास गराएका थिए । त्यसबारे आमालगायत अन्य भाईहरुलाई जानकारी भएपछि अदालतमा मुद्दा परेकोमा अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहनेगरी फैसला गरेको थियो । बाँकी रहेको १० कट्ठा ९ धुर जग्गा पनि दाइहरुलाई आमाले दिनसक्ने भएकोले आमाको हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको प्रहरीले जनाएको छ । भिडियो हेर्नुहोस्ः