गलेश्वर, १९ माघ -ग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । सङ्घीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ ।
विसं २०६८ मा एक घर परिवारभित्र ४।०९ जना रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३।६७ जना मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ,” उहाँले भन्नुभयो ।
उहाँले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहरबजारमा धेरै रहेको बताउनुभयो । जिल्लाको ६ वटै स्थानीय तहमा समेत विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जिल्लाबाट भारतसहित तेस्रो मुलुकमा विदेसिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ । यसमा पुरुष आठ हजार ८४३ र महिला एक हजार ८७० छन् । पच्चीस हजार ३७४ घरधुरी २९ हजार २४२ परिवार सङ्ख्याको बसोबास छ । ९५।८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३।६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०।४९ प्रतिशत छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको सङ्ख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताउनुभयो । “घर संरक्षणको अभावमा खाली हँुदा खेतबारी बाँझोमा परिणत भएको छ, सङ्घीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन ।” उहाँले भन्नुभयो । उहाँले शिक्षित र आर्थिक रुपमा सम्पन्न मात्रै नभई विपन्न परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताले ग्रामीण बसाइमा आकर्षित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको सुवेदीले बताउनुभयो ।
बसाइँसराइको कारण ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या कम छ । गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ ।“युवाहरू विदेशमा छन्, अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ,” मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भन्नुभयो । उहाँले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजनाहरू सञ्चालन गरे पनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेका बताउनुभयो ।
बसाइँसराइको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा एक लाख सात हजार ३७२ देखिएको छ ।
जिल्लाका गाउँ÷नगरपालिकाको जनसङ्ख्या स्थिति
क्रम सं पालिकाको नाम २०७८ २०६८
१ अन्नपूर्ण गाउँपालिका १२३५१ १३३१५
२ बेनी नगरपालिका ३३०६२ ३३४९८
३ धवलागिरि गाउँपालिका १२६०४ १४१०४
४ मालिका गाउँपालिका १८३४६ १९४५८
५ मङ्गला गाउँपालिका १४७७२ १६२८६
६ रघुगङ्गा गाउँपालिका १४२३२ १५७५३