बैतडी, १८ मा – जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो ।
दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चिकित्सकको अभाव छ ।”सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मङ्सिरमा भेन्टिलेटरसहितको दुई शय्याको आइसियु कक्ष स्थापना गरिएको थियो ।
अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा कोरोनाको महामारीमा पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति अभावमा उपकरण जडानपछि त्यस्तै थन्किएको छ ।”
श्वासप्रश्वासमा समस्या भएका जटिल खालाका सङ्क्रमितलाई अहिले डडेल्धुरा तथा कैलाली जिल्ला पठाउनु परेको र कतिपयको भने त्यहाँ नपुग्दै बाटो नै मृत्यु हुने गरेको थियो । भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन् । प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसियु कक्ष राख्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुरूप कक्ष सञ्चालनमा ल्याइएको थियो ।
एक लाख ४० हजारले लगाए कोरोना खोप – बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४० हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख ४० हजार २२५ जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् । पूर्णरुपमा उक्त खोप लगाउनेको सङ्ख्या भने एक लाख छ हजार २५२ रहेको छ ।
पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २० हजार ८०१ जनाले पहिलो मात्रा र १२ हजार ७९१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैगरी पाटन नगरपालिकामा १५ हजार ३२५ जनाले पहिलो मात्रा र २२ हजार १४२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र सात हजार ४९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै डिलासैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र आठ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुर्नया गाउँपालिकामा नौ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पञ्चेश्वर गाउँपालिकामा आठ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको थियो । यहाँका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप अभियान निरन्तररुपमा सञ्चालन भइरहेको जनाइएको छ ।(रासस)