बागलुङ, १७ माघ-काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो । सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गर्दै आएको छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार शनिबारको आम भेलाले नयाँ वर्षका दिन दिउँसो १२ बजे नगरा बजाउने निर्णय गरेको हो ।
नगरा बज्नुअघि चैत मसान्तको मध्यरात १२ बजेदेखि १२ घण्टासम्म अखण्ड सङ्र्कीतन गरिने अध्यक्ष आश्रमले बताउनुभयो । “अखण्ड सङ्र्कीतन लगत्तै नयाँ वर्षको सन्देशसहित नगरा बजाउन सुरु हुन्छ”, उहाँले भन्नुभयो । नगरा स्थानीय परियार समुदायभित्रैबाट बजाउने गरी थिती बसालिने अक्षय कोषले जनाएको छ । त्यसका लागि दुई जना ‘नगर्ची’ छनोट हुनेछन् । त्यो परम्परा उनीहरुका सन्ततीमा सर्दै जाने उहाँले बताउनुभयो । नगरा बजाउने ‘गज’ श्रीखण्डको हुने जनाइएको छ ।
सो दिन नयाँ वर्षको सुखद् कामनासहित नगरामा दानदक्षिणा अर्पण गर्न सकिने प्रबन्धसमेत मिलाइने भएको छ । सो भेटी रकममध्ये ५० प्रतिशत नगर्चीलाई र ५० प्रतिशत अक्षय कोषमा रहनेछ । अक्षय कोषमार्फत त्यो रकम कल्याणकारी कार्यमा खर्च गरिनेछ । नयाँ वर्षबाहेक अन्य कुनै पनि दिनमा सो नगरा नबज्ने अक्षय कोषले जनाएको छ । नगरा अवलोकन भने अघिपछि पनि गर्न सकिनेछ । अक्षय कोषले गत असारमा सो नगरा निर्माण गरेको थियो । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा बनाएका थिए ।
रु पाँच लाखमा बनेको नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरलाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको थियो । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको थियो । परम्परागत आरान प्रविधिबाट नगरा बनाइएको हो । नगरा निर्माणमा कालिगढ रवीलाल, जरसिंह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गर्नुभएको थियो । नगरा बनाउँदा कालिगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । अध्यक्ष आश्रमले मल्लकालमा बनेको काठमाडौँ, हनुमानढोकामा रहेको नगराको गोलाइ साढे ६ फिट मात्र रहेकाले यहाँ निर्मित नगरा ‘देशकै ठूलो’ रहेको बताउनुभयो । यहाँको नगराको गोलाइ सात फिट र उचाइ छ फिटभन्दा केही बढी छ ।
कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन सङ्ग्रहालयमा नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थपेको छ । यसले नेपाली मौलिक लोकवाद्ययन्त्रप्रति सम्मान र संरक्षणको सन्देश पनि दिएको छ । सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट गत आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च गरिएको थियो । बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षय कोषले जनाएको छ ।
सङ्ग्रहालयको संरचना निर्माणसँगै लोकबाजा सङ्कलनका लागि चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ । विसं २०६६ मा स्थापित अक्षय कोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ ।हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको अक्षय कोषले जनाएको छ । सङ्ग्रहालय भवनको पहिलो तलामा नेपाली, दोस्रोमा विदेशी लोकबाजा र तेस्रोमा नेपालको परम्परागत संस्कृति झल्काउने वेशभूषा र सामग्रीको सङ्ग्रह रहने अध्यक्ष आश्रमले बताउनुभयो । (रासस)