बाटो भुलेका प्रचण्ड नेपालले कांग्रेसको बुई चढेर एमालेलाई धम्काइरहेका छन् : महेश बस्नेत — OSNepal

बाटो भुलेका प्रचण्ड नेपालले कांग्रेसको बुई चढेर एमालेलाई धम्काइरहेका छन् : महेश बस्नेत

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको एम्बुसमा नेपाली कांग्रेस किन परेको भन्दै प्रश्न गरेका छन् ।
एक कार्यकममा सहभागी भएका उनले प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्यान्डविचजस्तो बनाउन खोजेको भन्दै यस्तो बताएका हुन् ।

चर्को दवाव पछि सत्ता गठवन्धन स्थानीय तहको चुनाव गर्न तयार भएको बताएका उनले प्रचण्ड र नेपाल कांग्रेसको बुई चढेर एमालेलाई धम्काइरहेको आरोप लगाएका छन् ।

‘माधव नेपाल र प्रचण्डले कांग्रेसको बुई चढेर एमालेलाई धम्काइरहेका छन् । उनीहरु बाटो भुलेका यात्री हुन् । यो त स्याल र फ्याउराले हात्ती चढेर सिंहलाई धम्काएजस्तो हो ।’

गठबन्धनले स्थिरता दिँदैन भन्ने त दुई तिहाइ बहुमतको केपी ओलीको सरकार ४० महिनामै ढलेको देखि सकेको बताएका उनले भनेका छन् ,’ अब माधव नेपाल र प्रचण्डले गठबन्धन गर्ने होइन, सीधै कांग्रेस प्रवेश गरे हुन्छ । त्यसो भएमा डेमोक्रेटहरु कांग्रेससँग जान्छन्, कम्युनिस्टहरु एमालेसँग आउँछन्’ ।

स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत तह जित्ने दावी गरेका उनले कार्यक्रममा उनले भनेका छन् , ‘कतिपयलाई लागेको होला, कतिपय नेताहरु बाहिरिएकाले एमालेले हार्छ । त्यो त पुराना पात झरेपछि वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछ । अबको प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसकै हो ।’

प्रचण्ड र नेपालको च्याँखे थाप्ने पार्टीमा कांग्रेस किन एम्बुसमा पर्छ भन्दै उनले प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर