म्याग्दीको छहरीखोलामा २६ मिटर लामो बेलिब्रिज निर्माण — OSNepal

म्याग्दीको छहरीखोलामा २६ मिटर लामो बेलिब्रिज निर्माण

LC (KTM) January 28, 2022 0

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ छहरीखोलास्थित राहुघाट नदीमाथि बेलिब्रिज निर्माण भएको छ । संयुक्त ऊर्जा कम्पनीद्वारा निर्माण शुरु भएको ठूलोखोला जलविद्युत् आयोजनाले २६ मिटर लामो बेलिब्रिज निर्माण गरेको हो । एक्काइस दशमलव तीन मेगावाट क्षमताको आयोजनाको विद्युत्गृह निर्माण स्थल जोड्ने बेलिब्रिजको शुक्रबार रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

बेलिब्रिज निर्माण भएपछि आयोजनाको विद्युत्गृह, सुरुङ निर्माणमा सहज, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा जाने पर्यटक, दुवाडी र ढाड गाउँका बासिन्दालाई सुविधा पुगेको स्थानीयवासी प्रकाश छन्त्यालले जानकारी दिनुभयो । पुल नहुँदा बर्खायाममा विद्युत्गृह निर्माणस्थल मूल सडकदेखि यातायात सम्पर्क विच्छेद हुने समस्या थियो । अब बाह्रै महिना निर्माणको काम गर्न सकिने वातावरण बनेको ठूलोखोला जलविद्युत् आयोजनाका कर्मचारी राम खत्रीले बताउनुभयो ।

सुगँुरथलामा बाँध रहने आयोजनाको दुई हजार ७०० मिटर सुरुङ निर्माण भइरहेको छ । एक सय १२ मिटर सुरुङको अडिट निर्माण भइसकेको खत्रीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भण्डारीले आयोजनाका साथै स्थानीयवासीलाई पनि सुविधा पुग्ने बताउनुभयो । संयुक्त ऊर्जा र तुदी हाइड्रोपावरले मौवाफाँट हुँदै दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क जोड्ने सडकको अजिङ्गर भिरमा मार्ग निर्माणमा गाउँपालिकासँग साझेदारी गरेका थिए ।

राहुघाट नदीमा एकै साथ ८३.५ मेगावाट क्षमताका दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले यसअघि रघुगङ्गा–७ चिमखोलाको बगर खोलामा ३० मिटर लामो बेलिब्रिज बनाएको थियो । सो बेलिब्रिजबाट चिमखोला र कुइनेमङ्गलेका स्थानीयवासीहरुलाई पनि सुविधा पुगेको छ । पैँतीस मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने सडकअन्तर्गत बगरखोलामा बनेको पुलले चिमखोला र कुईनेमङ्गलेका दुई वटा वडालाई सिधा सडक यातायात सञ्जालसँग जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर