कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका सेवा बन्द — OSNepal

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाका सेवा बन्द

LC (KTM) January 28, 2022 0

बैतडी, १४ माघ- कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको थियो । बैतडी जिल्ला अदालतले पनि कर्मचारीमा कोरोना देखिएपछि यही माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

यसैबीच जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द गरिएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना जारी नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइसकेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर