कास्की, १३ माघ- भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हँुदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।पछिल्लो समय कोरोना सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।
केही कर्मचरी सङ्क्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ । जिल्लामा पछिल्लो समय सङ्क्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ ।