लमजुङमा सात दिन थप निषेधाज्ञा थपियो — OSNepal

लमजुङमा सात दिन थप निषेधाज्ञा थपियो

LC (KTM) June 02, 2021 0

लमजुङ, १९ जेठ – जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलिँदै गइरहेकाले यसबाट नागरिकलाई बचाउनका लागि निषेधाज्ञा पुनः थप गरिरहेका छौँ ।”

सो बैठकले यस अवधिका मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नका लागि आवश्यक देखिएकाले बैँक, वित्तीय संस्था र सहकारी संस्थाहरु हप्तामा दुई दिन आइतबार र बिहीबार दुई÷दुई घण्टा खोल्ने निर्णयलाई यथावत् राख्ने निर्णय गरेको बताइएको छ । त्यस्तै, जिल्लाभित्र सञ्चालन हुने ढुवानीका साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म र जिल्ला बाहिरबाट यस जिल्लामा प्रवेश गर्ने ढुवानीका साधनलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय पनि यथावत रहेको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्लामा गत वैशाख २८ गतेदेखि करिब एक÷एक हप्ता गर्दै जारी निषेधाज्ञा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरेको हो । जिल्लामा हालसम्म एक हजार ११४ जना कोरोना सङ्क्रमित पुगेको छ । त्यस्तै हालसम्म १७ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर