रुपन्देही- रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र एक महिलाको शव भेटिएको हो ।अन्दाजी सात वर्षीया बालिका र ३५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिनुभयो । उनीहरुको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
राष्ट्रिय जनमोर्चाद्वारा तटबन्ध निर्माण कार्यप्रति आपत्ति-राष्ट्रिय जनमोर्चाले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले गरेको तटबन्ध निर्माण कार्यप्रति आपत्ति जनाएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालसँग सहमति नलिई भारतले एकलौटी ढङ्गबाट जारी राखेको तटबन्ध निर्माण कार्यले नेपालतर्फ वर्षायाममा हुनसक्ने सम्भावित क्षतिका कारण तत्काल कार्य रोक्न सरकारसँग माग गरिएको छ ।
भारतले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिई एकलौटी ढङ्गबाट संरचना निर्माण कार्य अगाडि बढाएर अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको उल्लेख गरिएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय नियमअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र महाकाली नदीमा नेपाल तथा भारतले आफ्नो भू–भागभित्र कुनै भौतिक संरचना निर्माण गर्नुपरेमा एकअर्काको मुलुकको सहमति लिनुपर्नेमा त्यसो नगरी नेपालको सार्वभौमसत्ता तथा अखण्डतामाथि भारतले गरेको हस्तक्षेपप्रति सरकार भारतीय पक्षसँग दृढतापूर्वक प्रस्तुत हुन सुझाव दिइएको छ ।