आज ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७२१९ जनाले जिते कोरोनालाई — OSNepal

आज ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७२१९ जनाले जिते कोरोनालाई

LC (KTM) June 02, 2021 0

काठमाडौं । नेपालमा बुधबार ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७२१९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । आजसम्म नेपालमा संक्रमणमुक्त हुने दर ८०।८ प्रतिशत पुगेको छ ।

यो पनि : सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुने घटेनन् : देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै सङ्क्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको सङ्ख्या कम नभएको हो । एक सातायताको तथ्याङ्क हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ ।

मङ्गलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका श्ययामा २२५ र अरू श्ययामा २१० बिरामी थिए । अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रबि शाक्यले बताउनुभयो । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “बच्चाको एनआइसयुबाहेक अरू आइसियु सधैँ भरिभराउ रहेका छन् ।”

अस्पतालमा पनि पिसिआर परीक्षणका लागि आउनेको सङ्ख्या केही कम भए पनि भर्ना हुनेको सङ्ख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शङ्कास्पद सङ्क्रमित र अरू बिरामीलाई छुट्याइने गरिएको छ । ‘फिबर क्लिनिक’मा आउनेका सङ्ख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सातायता पिसिआर परीक्षणका लागि अस्पताल आउनेको सङ्ख्या पनि घटिरहेको छ ।” अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ ।

आवश्यकताअनुसार कोभिडका लागि श्यया बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताउनुभयो । अहिले नयाँ भेरियन्टसहित सङ्क्रमण देखिन थालेसँगै अरू श्ययालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि तीन सय श्यया र अरूका लागि ३५० श्यया छ । उहाँले भन्नुभयो, “सबै श्ययामा नै बिरामी झण्डै भरिएका छन् ।”

अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शङ्कास्पद व्यक्तिलाई शुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो । यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन्् । उहाँले भन्नुभयो, “अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।” अस्पतालले कोभिडका लागि ३० आइसियु र १८ भेन्टिलेटर छुट्याएको छ ।

कोभिडबाहेक सजिर्कल, मेडिकल आइसियु र बालबालिका लागि एआइसियु गरी २० आइसियु रहेका छन् । सङ्क्रमण बढिरहँदा आवश्यकताअनुसार नै श्यया बढाउँदै लगिएको निर्देशक शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण शुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर