न्युयोर्क, ५ माघ-प्रशान्त महासागरको टापु राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटपछि उत्पन्न मानवीय संकट समाधानका प्रयास भइरहेका छन् । अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको विवरण सार्वजनिक भइरहेका छन् ।
राष्ट्रसंघका प्रतिनिधि जोनाथन भिचले विमानस्थलमा खरानी हटाउने काम सुरु भए पनि कठिन देखिएको बताएका छन् । उद्धारकर्ताहरूले ज्वालामुखी विस्फोटपछि उडेको खरानी हटाउन विमानस्थलमा खटिएका छन् । करिब २०० उद्धारकर्ताहरूले विमानस्थल सफा गरिरहेका छन् ।
शनिबार भएको विस्फोटमा एक ब्रिटिस नागरिकसहित चारजनाको मृत्यु भएको छ । विस्फोटपछि धुँवाको मुस्लो आकाशमा २० किलोमिटरमाथिसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि बाँकी संसारसँग टाेंगाको सम्पर्क टुटेको छ । एक लाख जनसंख्या रहेको टापु राष्ट्र टोंगा सात लाख वर्गकिलोमिटरको क्षेत्रमा फैलिएको छ ।