चीनद्वारा एक हजार ५०० थान अक्सिजन सिलिण्डर प्रदान — OSNepal

चीनद्वारा एक हजार ५०० थान अक्सिजन सिलिण्डर प्रदान

LC (KTM) June 01, 2021 0

रसुवा, १८ जेठ – कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिण्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना:- पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ”, निर्देशक डा खड्काले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणबाट भने चार जनाले ज्यान गुमाएका छन् ।” मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एक÷एक रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ भेन्टिलेटरमा, ५३ आइसीयूमा, ३७० आइसोलेसन केन्द्रमा र पाँच हजार १७१ जना होमआइसोलेशनमा रहेका छन् । कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म २४७ जना व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर