सङ्क्रमणमा कमी आएपछि अस्पतालमा घटे बिरामी, खाली हुँदै बेड — OSNepal

सङ्क्रमणमा कमी आएपछि अस्पतालमा घटे बिरामी, खाली हुँदै बेड

LC (KTM) June 01, 2021 0

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बिरामीको सङ्ख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो ।

“बिरामीको सङ्ख्या बढे त्यसमा पुनः विचार गरिन्छ”, उहाँले भन्नुभयो, “कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याए पनि हाल उक्त स्थानमा १६ वटा शय्या मात्र सञ्चालनमा आएको छ ।” उहाँका अनुसार धेरै सङ्क्रमित घरमै आइसोलेशनमा छन्, केही मात्रै अस्पताल गएकाले पनि निर्माण भएको अक्सिजनसहितका अस्पतालहरुमा शय्याअनुसार बिरामी नभएका हुन् ।

त्यस्तै कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेदिक अस्पताल पनि जम्मा सङ्ख्याको २० प्रतिशत मात्रै कोरोनाका बिरामीले उपचार गराइरहेको कामपाको भनाइ छ ।

हाल कामपामा ६१ हजार ९२४ कोरोना सङ्क्रमित रहेकामा ५० हजार ६८९ जना निको भएका छन् भने १० हजार १२५ होम आइसोलेशन र १७० संस्थागत आइसोलेशनमा रहेका छन । त्यस्तै हाल १० हजार ८१६ सक्रिय सङ्क्रमितमध्ये ५२१ ले अस्पतामा उपचार गराइरहेका छन् । कोरोनाका कारण ४१९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।

कोभिडका बिरामीलई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । विरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्पmत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ । यी माध्यमबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीले सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर