वीरगञ्जमा कोभिड परीक्षणको दायरा बढाउन थालियो — OSNepal

वीरगञ्जमा कोभिड परीक्षणको दायरा बढाउन थालियो

LC (KTM) January 08, 2022 0

नेपालमा पछिल्लो पटक कोरोना सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ ।

भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयानुसार वीरगञ्ज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको प्रजिअ ढकालले बताउनुभयो ।

केन्द्रका अनुसार स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकताअनुसार सबै स्थानीय तहमा पठाउन थालिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण र जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोधसमेत गरिएको हो । केन्द्रले कोभिडको नयाँ भेरियन्टले महामारीको जोखिम बढाउने भन्दै पूर्वतयारी तथा व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश सरकारको कोभिड कोषबाट मास्क, स्यानिटाइजरलगायत सामग्री खरिद गरी वितरण गर्ने कामसमेत अघि बढाएको छ ।

नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ

पर्साको वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ । वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमूना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको वीरगञ्जस्थित नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा प्रभाकर पाण्डेले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा पछिल्लो पटक गरिएको ऐन्टिजेन परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरुको (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको हो । सङ्क्रमण पुष्टि हुनेहरुमा अधिकाशं ३५ देखि ६० वर्ष उमेर समूहका भारतीय नागरिक रहेका छन् ।

हत्या आरोपमा चार पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा एकजना बालकको हत्याको आरोपमा प्रहरीेले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर