पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रिय सदस्य भएको हुँ : चौधरी — OSNepal

पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रिय सदस्य भएको हुँ : चौधरी

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । आफु विरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको स्पष्ट पारेका छन् ।

निवार्चन समितिले उम्मेदवारी दर्ता गरेपछि पनि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको स्मरण गराउँदै नेता चौधरीले प्रश्न गरेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’

आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ नभएको बताएका चौधरीले नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैन भनेका छन् ।

१४औँ महाधिवेशनको निर्वाचनमा चौधरीसँग सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निवार्चन भएको तिन सातापछि यादवले चौधरी विरुद्ध आयोगमा उजुरी दिएका हुन् ।

यस विषयलाई आफुले आफ्नो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूपमा लिएको बताउँदै उनले भनेका छन्, ‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ।’

नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको दावी गरेका चौधरी नेपालको उद्योगपति समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर