प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट : बैतडी फाइनलमा — OSNepal

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट : बैतडी फाइनलमा

LC (KTM) January 03, 2022 0

बैतडी, १९ पुस -बैतडीको टोली प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम छनोटको फाइनलमा प्रवेश गरेको छ । कैलालीलाई ३२ रनले हराउँदै बैतडीले फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिम छनोटअन्तर्गत आज भएको खेलमा बैतडी लगातार तेस्रो खेलमा विजयी भएको हो । बैतडीले निर्धारित ३५ ओभरको खेलमा आठ विकेटको क्षतिमा १९८ रन बनायो । एक सय ९९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कैलालीले ३० दशमलव ५ ओभरमा सवै विकेट गुमाएर १६६ रन मात्र बनायो । कैलालीका शेर मल्लले अविजित ५१ रनको पारी खेले पनि हार टार्न भने सकेनन् । हारसँगै कैलाली प्रतियोगिताबाट बाहिरिएको छ । बलिङतर्फ बैतडीका वीरेन्द्र नाथ, प्रदीप चन्द र गजेन्द्र बोहराले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बैतडीका लागि नरेन भट्टले अर्धसतकीय पारी खेल्दै ६० रन बनाए । बलिङतर्फ कैलालीका नरेन साउँदले तीन विकेट लिए । बैतडीका नरेन भट्ट खेलको म्यान अफ दी म्याच घोषित भएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मङ्गलबार कभर्डहलमा बिहान नौ बजेदेखि सुरु हुनेछ । फाइनल खेल कञ्चनपुर र बैतडीबीच हुनेछ । कञ्चनपुर समूह ‘ए’ बाट तथा बैतडी समूह ‘बी’बाट शीर्ष स्थान ओगट्दै फाइनलमा पुगेको हो । यही पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरका आठ जिल्ला सहभागी थिए । उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी छनोट गरी यही पुस २५ गतेदेखि काठमाडौँमा हुने प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर