एजेन्सी । मध्य युरोपेली मुलुक अस्ट्रियामा इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । यो सातादेखि असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन् ।
तथापी यो नियमलाई कडाइका साथ नियमन गरिने भएको छ । जो कोहिले आत्महत्या रोज्न भने पाउने छैन । आत्महत्या गर्ने प्रत्येकलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने बताइएको छ ।
ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजून् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरूले बताएका छन् ।
संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्ले यस सम्बन्धी कानुन बनाएको थियो । आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ ।
यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ । नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न रोक लगाएको छ ।
स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन ।