आगोले जलेकी डोटीकी लक्ष्मीलाई काठमाडौँ ल्याउन मन्त्री आलेसहितको टोली हेलिकप्टरमा डोटी जाँदै — OSNepal

आगोले जलेकी डोटीकी लक्ष्मीलाई काठमाडौँ ल्याउन मन्त्री आलेसहितको टोली हेलिकप्टरमा डोटी जाँदै

LC (KTM) May 31, 2021 0

काठमाडौँ, १७ जेठ- वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौँ ल्याउनका लागि हेलिकप्टर जाने भएको छ । अज्ञात व्यक्तिले यही जेठ १२ गते बुधबार राति आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते भाटको जिल्लामा उपचार गर्न सम्भव नभएपछि मन्त्री आलेको पहल तथा अर्थमन्त्री विष्णु पौडेल तथा गृहसचिव महेश्वर न्योपानेको समन्वयमा निजलाई थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको हो । आगोले जलेर गम्भीर घाइते भएकी निज महिलाको सरकारी क्षेत्रबाट नै उपचार गर्ने गरी उद्दार गरिन लागेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले उपचारका लागि रु २५ हजार पनि प्रदान गर्नु भएको छ, अन्य उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।”

घाइते महिलाको थप उपचार गर्नका लागि काठमाडाँै ल्याउनका अहिले काठमाडौँबाट मन्त्री आलेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा डोटी जाँदै तयारीमा रहेको छ । आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निज महिलाको कम्तिमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् । घटना घटे लगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट भने फरार रहेको प्रहरीले जनाएको छ । श्रीमान फरार रहेकाले उनले नै घटना घटाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर