काठमाडौँ, १५ पुस-प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियानको प्रतिनिधिमण्डलले भेट गरी देशमा बढ्दै गइरहेको सांस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराएको छ ।महाअभियानका संयोजक एवं चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा बालुवाटारमा गएको प्रतिनिधिमण्डलले देशका पुरातात्विक सम्पदा एवं संस्कृतिलाई संरक्षण संवद्र्धन गर्नका लागि राज्यको तर्फबाट विशेष चासो र पहल हुनुपर्ने माग गरेको हो । कुनै पनि देशको सभ्यता र संस्कृतिसँग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्ण राख्नका लागि संस्कृति जीवन्त रहनुपर्ने अभियानको मूल उद्देश्य रहेको छ ।
प्रधानमन्त्री देउवाले महाअभियानलाई सफलताको शुभकामना दिँदै सरकार संस्कृतिको संरक्षणका लागि सकारात्मक रहेको र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको संयोजक निरौलाले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलले महाअभियानको प्रतीकस्वरूप नेपालको विविध संस्कृति र सम्पदा अङ्कित छायाँ चित्र, महाअभियानको कार्यक्रम पुस्तिका प्रधानमन्त्री देउवालाई उपहारस्वरुप प्रदान गरेको थियो । परिवर्तन नेपालअन्तर्गत गठन भएको उक्त महाअभियान गत मङ्सिर २६ गते शुभारमभ भएको थियो । महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि पर्चा वितरण गर्दै आएको छ । (रासस)