बाँके । बाँकेको नेपालगन्जबाट १ किलो सुनको बिस्किट सहित दुई जना पक्राउ परेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नंवर २० राँझा चोक नजिकबाट सुन सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
अवैध रुपमा सुनको कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा राँझा चोकबाट १ किलो सुन जस्तो देखिने धातु सहित जाजरकोटको बारेकोट गाउँपालिका ६ का २२ बर्षीय राजु कार्की र सोही बारेकोट गाउँपालिका वडा नं- ८ का २९ वर्षीय पुर्ण बहादुर बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट ४ लाख बराबरको चेक र नगद २ लाख ७७ हजार रुपैँया समेत बारामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार उक्त सुन जस्तो देखिने बिस्किट सुन नै हो वा अन्य कुनै धातु भन्ने कुराको पुष्टि हुन भने बाँकी छ । प्रहरी स्रोतका अनुसार उक्त बिस्किटमा बाहिर सुनको जस्तो लेपन देखिएतापनी भित्र फलाम जस्तो धातु देखिएकोले बाहिरबाट सुनको जलप मात्र लगाइएको होकि भन्ने बिषयको अनुसन्धान भैरहेको छ ।