गुरुङ र तामाङलाई चट्टान आरोहण प्रतियोगिताको उपाधि — OSNepal

गुरुङ र तामाङलाई चट्टान आरोहण प्रतियोगिताको उपाधि

LC (KTM) December 27, 2021 0

तनहुँ- तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरमा सञ्चालन भएको प्रथम चट्टान आरोहण प्रतियोगिताको उपाधि पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङले जित्नुभएको छ । विमलनगरस्थित चुनपहरामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ चार मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गर्दै गुरुङले उपाधि जित्नुभएको हो । महिलातर्फ भने तामाङले पाँच मिनेट ५३ सेकेण्डमा दूरी पार गर्नुभयो ।

पुरुषतर्फ सुलभ राई द्वितीय, तेञ्जिङ राई तृतीय हुनुभएको छ । महिलातर्फ रुसा प्रधान द्वितीय र सेवा सुचिता तृतीय हुनुभएको छ । प्रतियोगितामा पुरुष महिला दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ५० हजार ५००, रु २० हजार र रु दश हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा ३८ जनाको सहभागिता थियो ।

विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा उहाँले साहसिक खेलको रुपमा रहेको चट्टान आरोहणको विकास र संरक्षणका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

चुनपहराको संरक्षणका लागि बन्दिपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लव पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण प्रतियोगिता सञ्चालन गरिएको थियो । पृथ्वीराजमार्ग विस्तारका क्रममा यस ठाउँ भत्किने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउन प्रतियोगिता आयोजना गरिएको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो ।

गण्डकी प्रदेशमा रहेका पर्वतारोही आबद्ध संस्थाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आइरहेको छ । चट्टान आरोहण मानसिक तनाव कम गर्नका लागि उपयुक्त रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सगरमाथा चढ्न जानुपूर्व चट्टान आरोहणले सहयोग पु¥याउँछ ।

चुनपहरा बचाउ अभियानका अभियान्ता एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताउनुभयो । अरु पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणको लागि पत्ता लागेको पहराहरूमध्ये सबैभन्दा धेरै २७ वटा रुट भएको यही मात्र चट्टान हो ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले यस ठाउँको संरक्षणका लागि गाउँपालिकाले पहल गर्दै आएको बताउनुभयो । चुनपहरामा थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । “साहसिक पर्यटनको केन्द्रको रुपमा रहेको यस ठाउँमा थप पूर्वाधार निर्माण गरी रोजगारीको अवसर सिर्जना गराउने लक्ष्य लिएका छौँ,” थापाले भन्नुभयो । उहाँका अनुसार राजमार्ग विस्तारका क्रममा यसको संरक्षणका लागि केही विकल्पहरूमा छलफल भइरहेको छ ।

यहाँका स्थानीयवासीले पनि यस ठाउँको संरक्षण हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । राजमार्ग विस्तार योजना अनुरूप सडकको मापदण्ड अनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५÷२५ मिटर विस्तार गर्नका लागि चिन्ह लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भएतापनि पृथ्वीराजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

चुन पहरा संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकता अनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाई खोलापट्टिको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारी करिब १.५ किमिको वैकल्पिक ट्रयाक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडी सारेको छ ।

पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटकहरु चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ सालमा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकहरू र स्थानीयवासी मिलेर सो क्षेत्रको शुरुवाती अन्वेषण गरे पश्चात् क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायहरुले यस क्षेत्रमा आरोहण गतिविधि गर्नुका साथै व्यवस्थापन गर्दै आएको छ ।

पहिला डरलाग्दो पहराको रुपमा लिइने यसले तनहुँ तथा नेपाललाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको छ । यहाँ साहसिक अभ्यास, तालिम तथा खेलकुद गतिविधि सञ्चालन हुने गरेको छ । यहाँ राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका छन् । पर्वतारोहण क्षेत्रमा आबद्ध सङ्घसङ्गठन, प्रतिष्ठान र क्याम्पसहरूले तहगत तालिमका सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा तथा परीक्षा यस ठाउँमा सञ्चालन गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर