सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन । बराबरी खेले संगै दुबै टिमले अंक बाँडेका छन्।दशरथ रंगशालामा आज भएको खेलमा एपीएफ र एनआरटी बीच एकदमै रोमान्चक खेल भएको हो । दुबै टोलीले तीन तीन गोलको बराबरी खेलेका छन् ।
खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट बित्न नपाउँदै आशिष लामाले गोल गर्दै एपीएफलाई एक एक गोलको बराबरीमा फर्काए । ४८ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई दुई एकको अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी तीन एकले अघि रहेको थियो । खेल आफ्नो पक्षमा पारिसकेको एनआरटी अन्तिम तिर सम्हालिएर खेल्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । ६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल तीन दुईको अवस्थामा ल्याएका थिए ।
दोस्रो गोल गरेको ४ मिनेट पुग्दा नपुग्दै नविन लामाले गोल गर्दै खेललाई तीन तीनको बराबरीमा ल्याएका थिए । बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ ।