कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने — OSNepal

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने

LC (KTM) May 30, 2021 0

तानसेन, १६ जेठ- यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ । पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि नै स्थलगत परीक्षण तथा सर्भे गरेका थिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकीमा जलमार्ग निर्माणको काम यसै वर्ष थाल्ने बताउनुभयो । राष्ट्रिय गौरवको योजनाका रूपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएकाले यसलाई सफल बनाउन बजेटमा समावेश भएको सङ्घीय सांसद दलबहादुर रानाले बताउनुभयो । उहाँले काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरण गर्न तथा सामान आयात निर्यातमा समेत सहज हुन विश्वास व्यक्त गर्नुभयो ।

सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालनका निम्ति परीक्षण गर्न नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारी, जलस्रोतविद् अनुप खनाललगायतको टोलीले सर्भे गरेको थियो । उहाँले अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरूपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताउनुभयो ।

गत चैतमा कोशी नदीमा तुम्लिङटारबाट चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भे भएको थियो । कालीगण्डकी नदीमा स्थलगत निरीक्षण गरेको टोलीले पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिएको थियो । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलोपटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो ।

छवटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछन् । विसं २०४०/४१ तिर पानीको अनुमानित आकलनबाट सञ्चालन भएको जलयान पनि त्यो समयमा कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर