पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासमा बजेट — OSNepal

पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासमा बजेट

LC (KTM) May 30, 2021 0

पाल्पा- सरकारले पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासलाई समेटेर बजेटमा समावेश गरेको छ । धार्मिक तथा पर्यटकीयस्थल सत्यवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास गरिने गरी बजेटमा सम्बोधन भएको छ । ऐतिहासिक तानसेन पुरानो बजारका रूपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गरिने कुराले पाल्पालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने अपेक्षा गरिएको छ ।

तिनाउ गाउँपालिकामा रहेको नेपालकै अनौठो खालको ऐतिहासिक महत्व बोकेको चिच्याएर वर माग्ने सत्यवती क्षेत्रको विकासमा सरकारले सम्बोधन गरेकामा खुशी लागेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो । केन्द्रीय बजेट करिब रु एक करोडको लागतमा काम भएको सत्यवतीमा पुनः थप योजना हुँदा स्थानीयवासी हर्षित भएका छन् ।

पहिरोग्रस्त क्षेत्रका रूपमा परिचित पाल्पा–बुटवल सडकखण्डको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा–दोभान खण्डमा आगामी वर्ष निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा उल्लेख गर्नुभयो ।

कालीगण्डकी करिडोर निर्माणकार्यको निरन्तरता, पाल्पाको बाँसटारी– जोर्ते खण्डको विस्तृृत योजना बनाएर विकास गरिने, कालीगण्डकीको देवघाटबाट राम्दीसम्म जलमार्ग निर्माण गरिने, काली नदीको पानीलाई लिफ्टिङ गरी यस क्षेत्रका फाँटमा सिँचाइ प्रबन्ध गर्ने, सिद्धार्थ राजमार्गलाई दुई लेन बनाइने, तानसेनको बर्तुङमा लिफ्टिङ खानेपानी आयोजना तथा झुम्साखोलामा खानेपानी आयोजनाको काम गरिने कुराले पाल्पावासीलाई उत्साहित बनाएको छ ।

कालीगण्डकी नदीमा जलयान सञ्चालनका लागि यही वर्ष सर्भे भएकामा अब निर्माणको काम थालिने कुराले थप खुशी थपेको यस क्षेत्रका नागरिकले बताएका छन् । बजेटमा पश्चिम पाल्पामा मौसम राडारको कामलाई निरन्तरता र राम्दी तिनाउ डाइभर्सनको योजनाको बारेमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर