सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणाली — OSNepal

सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणाली

LC (KTM) December 19, 2021 0

वीरगञ्ज- नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिनेछ । त्यसपछि अब सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

यस प्रणाली प्रयोग गरी प्रयोगकर्ताले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणमा आबद्ध भई आफ्नो बैंक खाताबाट सिधैँ विद्युतीय रुपमा भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरिएको हो ।

प्रयोगकर्ताले भन्सारमा प्रज्ञापनपत्र राजस्व भुक्तानीका लागि तयार अवस्थामा पुगेपछि भुक्तानी प्रणालीमार्फत प्रज्ञापन–पत्रको साधारण विवरणहरु (भन्सार कार्यालय कोड, वर्ष, प्रज्ञापनपत्र सङ्केत र प्रज्ञापनपत्र नं) प्रविष्ट गरी भुक्तानी हुनु पर्ने रकमको विवरण हेरी, यकिन गरी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यसको प्रयोगबाट व्यवसायीले तथा भन्सार एजेन्टले राजस्व दाखिलाको लागि नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका समस्याबाट मुक्त हुनेछ । यो प्रणालीबाट इन्टरनेट सेवा पहुँच भएका कुनै पनि स्थानबाट सहजै राजस्व भुक्तानी गर्न सक्नेछन् । भन्सार विभागले आगामी माघ महिनाभित्रै सबै भन्सार कार्यालयमा यो प्रणाली कार्यान्वयन गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ ।

चार वटा प्रहरी चौकीको भवन निर्माण-पर्सामा चार वटा प्रहरी चौकीको नयाँ भवन निर्माण भएको छ । प्रदेश नं २ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रु एक करोड ४५ लाख ३२ हजार ५५८ को लगानीमा पर्साका चार वटा प्रहरी चौकीको भवन निर्माण भएको हो । यसरी निर्माण भएका प्रहरी चौकी भवनमा महादेपटी, पाणेपुर, सुर्वणपुर र सबैठवा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर