हिजो मात्र क्यानले कप्तान ज्ञानेन्द्र मल्ल सहित ४ जनालाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । यो बिषयमा आज खेलाडीहरुले पत्रकार सम्मेलन नै गरेर आफ्ना कुरा राखि रहदा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पनि आफ्नो कुरा बाहिर ल्याएका छन् ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुर्नबिचार गर्न मन्त्री गहतराजले आग्रह गरेका छन् । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाएका हुन् ।
मन्त्री गहतराजले राष्ट्रका गहना तथा नेपाललाई विश्वमाझ परचीत गराउन योगदान दिएका खेलाडीहरुलाई दुरुत्साहित तरिकाले कारबाही गर्नु गलत भएको भन्दै तत्काल यो निर्णय सच्याउन आग्रह गरेका छन् ।
उनले खेलाडी र क्यानबीच बिबाद नै रहेको भए त्यसलाई उपयुक्त ढंगबाट समाधान गर्न निर्देशन समेत दिए । मन्त्री गहतराजले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई केन्द्रित गर्दै क्रिकेटमा देखिएको समस्या समाधान गर्न क्यानका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
उनले खेलाडीको वर्गिकरणको विषयमा चासो राख्दै खेलाडीमाथि गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए । क्यानको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राखेका छन् ।