नेपाल इराकसित मैत्रीपूर्ण फुटबल खेल्दै — OSNepal

नेपाल इराकसित मैत्रीपूर्ण फुटबल खेल्दै

LC (KTM) May 29, 2021 0

काठमाडौँ, १५ जेठ- नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । सो खेल इराकको बसरास्थित अल्फायहा खेल मैदानमा राति सवा १० बजे शुरु हुने छ । खेल बन्द रंगशालामा खेलाइने छ । कोरोना भाइरसको महामारीका कारण दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली मंगलबार इराक गएको हो । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको बरियतामा इराक ६८औँ तथा नेपाल १७१औँ स्थानमा छन् । इराकसितको खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको थियो । यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।

समूह बीमा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चिनियाँ ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जीत तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोलीका गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फर्वार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर