सरकारले आज प्रस्तुत गरेको बजेटमा बिभिन्न दलका नेताहरु बाट टिकाटिप्पणी सुरु भएको छ । कतिपयले बजेट राम्रै आएको धारणा राखेका छन् भने कतिपयले बजेट चुनावमुखी भएको आरोप लगाएका छन् ।
यसैक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि चुनावलाई लक्षित गरेर बजेट ल्याइएको आरोप लगाएका छन् । उनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट कामचलाउ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाए ।
‘काम चलाउ बनिसकेको सरकारले नियमित सेवा र काम गर्नबाहेक पूर्ण बजेट ल्याउन नपाइने उनको जिकिर थियो । प्रतिनिधिसभा विना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन नपाइने भएकोले यो सरकारबाट संविधान विपरीत काम भएको दाबी गरे ।
पुनले आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रुपमा बजेट आएको टिप्पणी गरेका हुन् ।