साफ यू १९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बिजयी भएको छ । नेपालले श्रीलंकालाई फराकिलो गोल अन्तरमा हराएको छ ।बंगलादेशको ढाकामा नेपालले बुधबार श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले हराएको हो । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई, सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरिन् ।
खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपालका लागि पहिलो गोल गरेकी थिईन् । त्यसको २ मिनेट बित्न नपाउँदै सबिताले गोल गर्दा नेपालको अग्रता २-० भएको थियो । खेलको ४३ औं मिनेटमा मेनुका, ४८ औं मिनेटमा रजनी, ५३ औं मिनेटमा सलोनी र ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।
आजको जित सँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।