विवेकशील पार्टीका पूर्वअध्यक्ष थापाको परिवारद्वारा दुर्गा प्रसाईंको सहयोग अस्वीकार — OSNepal

विवेकशील पार्टीका पूर्वअध्यक्ष थापाको परिवारद्वारा दुर्गा प्रसाईंको सहयोग अस्वीकार

LC (KTM) May 29, 2021 0

काठमाडौं- विवेकशील पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको सहयोग अस्वीकार गरेका छन् ।प्रसाइले शनिवार बिहान एक विज्ञप्ति जारी गर्दै थापाको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने बताए पछि थापाको परिवारले सहयोग अस्विकार गरेको हो । नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिमार्फत थापाको उपचार भइरहेको जानकारी गराउँदै उनका परिवारले प्रसाईंको सहयोग आवश्यक नपर्ने बताएका हुन् ।

थापाका परिवार सदस्यले आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै सहयोग आवश्यक नपर्ने जनाएका छन् । थापाका परिवारले उपचारका लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६,५०,००० रकम जम्मा भइरहेको बताए ।
उज्वल थापाको स्वास्थ्य स्थितिको बारेमा जानकारी

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ । यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।

चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ । यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ ।

सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।

उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर