काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।
कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् ।
त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । र, उनी बलिया उम्मेदवार हुन् ।
साझा बन्न नसक्दाको पीडा
वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्न हरसम्भव प्रयास गरे । शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहलाई मनाउन नसक्दा अन्तिम पटक सभापतिको उम्मेदवार बन्ने उनको धोको पूरा हुन सकेन ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
साझा उम्मेदवार नभए आफूले पार्टी नै छाड्ने धम्की दिएको भए पनि उनको त्यो ‘तुरुप’ ले काम गरेन ।
देउवालाई साथ
१३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार भएर पराजित भएका नेता कृष्णप्रसाद सिटौलालाई कांग्रेसमा तेस्रो धारको रुपमा लिने गरिएको छ । यसअघिको महाधिवेशनमा गगन थापा समेत उनको समूहमा थिए । यसपटक पनि सिटौलाले उम्मेदवारी दिने अनुमान धेरैले गरेका थिए तर उनले सभापतिमा मात्र होइन केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दिएनन् ।