काठमाडौँ- मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकृतम उपयोगमा जोड दिइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणानुसार आव २०७७÷७८ फागुनसम्ममा प्रविधि अधिकतम उपयोग गर्ने लक्ष्यानुरुप झण्डै ११ हजार सार्वजनिक स्थानमा सिसिटिभी जडान गरी सुरक्षको निगरानी थालिएको छ । दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनाानुरुप करीब तीन हजार जनशक्तिलाई तालीम प्रदान गरिएको जनाइएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी १९ सुरक्षाचौकीमा प्रयोग गरिएको छ । घटना दुर्घटनाको भौतिक सबुद प्रमाणको परीक्षण, विशेषज्ञबाट बकपत्र, पोलिग्राफ परीक्षण, औँठा छापको अभिलेख राख्दै जाने योजनाानुसार उक्त आवको फागुनसम्म ८५७ पोलिग्राफ परीक्षण गरिएको र साइबर ब्युरोबाट विद्युतीय कारोवारसम्बन्धी ५० मुद्दाको अनुसन्धान सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमा चेतनामूलक कार्यक्रममा समेत जोड दिइएको छ । उक्त अवधिमा झण्डै १६ लाखलाई प्रशिक्षित गराइएको छ । लैंगिक हिंसासम्बन्धी दुई हजार २८३ मुद्दा दर्ता भएकामा एक हजार ८१४ फछ्र्याेट गरिएको सर्वेक्षणमा उल्लेख छ ।
नेपाल भित्रिने र बाहिरिने सबै विदेशीको जैविक सूचनासहितको विवरण राख्ने गरी नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको छ । विदेशीस्थित ३९ नेपाली नियोगबाट समेत नेपाली पोर्टमार्फत प्रवेशाज्ञा जारी गर्न शुरु गरिएको जनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउने विदेशी पर्यटकका लागि अध्यागमन प्रक्रिया सहजीकरण गर्न सुरक्षा गार्ड तथा प्रशिक्षार्थी विद्यार्थीसमेत परिचालन गरी व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण सम्पन्न गरिएको र वार्षिक औसत ५.०६ प्रतिशतले प्रयोगकर्ताको संख्या वृद्धि भई कुल एक लाख ३० हजार ४२४ पुगेका छन् जसमा ९३ प्रशित बढी पुरुष छन् । विपद् व्यवस्थापनका लागि नेपालका सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन प्रतिकार्ययोजना तयार भएको र ६६ जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको सर्वेक्षणमा उल्लेख छ । (रासस)