शेखर र प्रकाशमानले छाडेनन् अडान, भोलि विहान आकांक्षी बाहेकको बैठक — OSNepal

शेखर र प्रकाशमानले छाडेनन् अडान, भोलि विहान आकांक्षी बाहेकको बैठक

LC (KTM) December 08, 2021 0

काठमाडौं, २२ मंसिर -नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो । मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् । सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले हिजै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।

चार नेताहरुका बीचमा आज सहमति नभएकाले भोलि फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि विहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको छ ।

उनले भने, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।’उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर