एक मतले हारेपछि पुन: मतगणना गर्न माग गर्दै निर्वाचन कार्यालयमा निवेदन, मतगणना रोकियो — OSNepal

एक मतले हारेपछि पुन: मतगणना गर्न माग गर्दै निर्वाचन कार्यालयमा निवेदन, मतगणना रोकियो

LC (KTM) December 01, 2021 0

सुनसरी, १५ मंसिर – नेपाली कांग्रेस सुनसरी उपसभापतिका उमेदवार गफार अन्सारी मिँया र सचिवका उमेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाकाे माग गर्दै निर्वाचन कार्यालय इनरुवामा निवेदन दिएका छन् ।

जिल्ला उपसभापतिका उम्मेदवार अन्सारी र सचिवका उमेदवार भट्टराईले मतगणनामा धाँधली भएको भन्दै निवेदन दिएका हुन् ।

संस्थापन पक्षबाट उमेदवार रहेका अन्सारीले १ हजार २९७ मत प्राप्त गरेका थिए भने विजयी हुने संस्थापन इतर प्यानलका पङ्कज कुमार महतोले १ हजार ३१३ मत प्राप्त गरेका थिए । १६ मतान्तरले पराजित बनेका अन्सारीले धाँधली रूपमा मतगणना भएको भन्दै पुन गणना गर्न माग गरिएको जानकारी दिए ।

सचिवमा एक मतले पराजित भट्टराईले आफ्नो पक्ष बलियो हुँदाहुँदै पनि लापरबाही तरिकाले मतगणना गरिएको भन्दै निवेदन दिएको बताए । सचिवमा संस्थापन इतर प्यानलका माधवबहादुर घिसिङले १ हजार २२९ मत प्राप्त गरी विजयी भएका थिए । संस्थापन प्यानलका सचिव पदका उम्मेदवार भट्टराईले १ हजार २२८ मत ल्याएर पराजित भएका थिए ।

निर्वाचन कार्यालयमा निवेदन परेपछि जिल्ला निर्वाचन समितिले मतगणना स्थगित गरेको छ । सहायक जिल्ला निर्वाचन अधिकृत वेनु सिग्देलले सहमति नहुन्जेल मतगणना स्थगित गरिएको जानकारी दिए ।

उनले दुई समूहका उमेदवार, जिल्ला नेताको सर्वपक्षीय छलफलबाट निष्कर्ष निकालिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर