कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित — OSNepal

कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित

LC (KTM) May 28, 2021 0

कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको थियो।त्यसलगत्तै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक र स्टाफ नर्समाथि आक्रमण गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाशबहादुर थापाले बताए । ‘लाठीसहित आक्रमण गर्न आउनुभयो । एक तलामाथिको झ्यालबाट हाम फालेर साथीहरूले ज्यान जोगाउनुभयो,’ उनले भने, ‘धन्न हाम फालेको ठाउँमा बालुवा थियो, त्यसैले केही भएन ।’ आक्रमणकारीहरूले अस्पतालको झ्याल–ढोकाका सिसा फुटाएका छन् ।

एक्कासि आक्रमण सुरु भएपछि उपचारमा व्यस्त चिकित्सक र स्टाफ नर्सहरूको भागाभाग भएको थियो । चार चिकित्सक र नर्सले माथिल्लो तलाको झ्यालबाट हाम फालेर ज्यान जोगाए । केही स्वास्थ्यकर्मीलाई आक्रमणकारीले लखेटेर कुटपिट गरे । ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई उनीहरूले घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ।एकाएक तोडफोड र आक्रमण हुन थालेपछि ज्यान जोगाउन झ्यालबाट हाम फालेको स्टाफ नर्स अस्मिता गुरुङले बताइन् । ‘सिनेमामा गुन्डाले जस्तै आतंक फैलाए, झ्यालबाट हाम नफालेको भए हामी त्यहीँ मारिन्थ्यौँ, उनीहरूले ठुल्ठूला लाठा बोकेका थिए,’ उनले भनिन् । ज्यान जोखिममा राखेर बिरामी हेरिरहेको वेला भएको उद्दण्ड व्यवहारले काम गर्ने जाँगर मरेको उनले बताइन्।

अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भागेको बताइन् । ‘घटना प्रत्यक्ष देखेका स्टाफ नर्सहरू वार्डमा जान मानिरहेका छैनन्,’ उनले भनिन्, ‘डरले कामिरहेकाले काम गर्न सक्ने मनस्थितिमा छैनन् स्टाफ नर्स । सुरक्षाको ग्यारेन्टी नभए काम गर्न गाह्रो छ ।’तोडफोड र आक्रमण भएको केही समयभित्रै अस्पतालमा थप दुईजना बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आक्रमणपछि अस्पताल अस्तव्यस्त भयो, स्वास्थ्यकर्मी तितरबितर भए । यो भयानक दृश्य देखेर केही गम्भीर बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथिसमेत हातपात भएको थियो । अस्पतालको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हवल्दार निर्मल नेपालीले भने, ‘मृतकका आफन्तले बिरामीका कुरुवा, स्वास्थ्यकर्मीमाथि लाठीसहित हातपात गरे । तर, उनीहरूलाई नियन्त्रणमा लिन सक्ने अवस्था थिएन । रोक्न खोज्दा हामीमाथि पनि हातपात भयो,’ उनले भने, ‘फिल्मी शैलीमा आक्रमण भयो । अवस्था हाम्रो कन्ट्रोलभन्दा बाहिर थियो।’

केही समयपछि भने प्रहरीले अस्पताल तोडफोड र चिकित्सक तथा स्टाफ नर्समाथि हातपात गरेको आरोपमा मृतकका भाइ मानबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए।घटनापछि भेरी कोभिड विशेष अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नभए काम बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले बिहीबार राति नै काम छाड्ने पक्षमा थिए । तर, राति अस्पताल प्रशासनसँगको बैठकपछि उनीहरू काममा फर्केका छन् ।

शुक्रबार बिहानसम्म माग पूरा नभए काममा नफर्किने उनीहरूले बताएका छन् । ‘हाम्रो सुरक्षाको पूर्ण ग्यारेन्टी नभए काममा फर्किँदैनौँ,’ भेरी अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले भनिन् । ज्यान जोखिममा राखेर बिरामीको उपचार गर्दागर्दै पटक–पटक हातपात र दुव्र्यवहार खेप्न परेको श्रेष्ठले बताइन् ।‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गुन्डागर्दी शैलीमा तोडफोड र आक्रमण हुने कार्य नरोकिए यसले भविष्यमा झनै विकराल रूप लिन्छ । दोषीलाई तत्काल कारबाही गर्नुपर्ने हाम्रो पहिलो माग हो,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर