सञ्चालनमा आएको पहिलो नौ महिनामै थलापरे घरबास — OSNepal

सञ्चालनमा आएको पहिलो नौ महिनामै थलापरे घरबास

LC (KTM) May 27, 2021 0

बलेवा, १३ जेठ- सञ्चालनमा आएको पहिलो नौ महिनामै आन्तरिक पर्यटकको रोजाइमा परेको सिग्दी सामुदायिक घरबास १४ महिनादेखि बन्द छ । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको घरबास कोरोनाका कारण सञ्चालनमा आउन नसकेको हो । विसं २०७६ चैतमा बन्द भएको घरबास २०७८ जेठसम्म पनि सञ्चालनमा ल्याउन नसकिएको घरबास सञ्चालक हीराबहादुर पुन बताउनुहुन्छ ।

महामारीको दोस्रो लहर शुरु हुनुपूर्व अन्य गतिविधि सञ्चालन भए पनि यहाँको घरबास भने बन्द रह्यो । अहिले घरबास सञ्चालनमा आउने अवस्था रहेन । घरबासलाई नै प्रवद्र्धन गर्ने भनेर सिग्दीबाट कौडेको लेकसम्म निर्माण भएको पदमार्गले पर्यटक कुरिरहेको छ । सिग्दी गाउँमै रहेको सांस्कृतिक सामुदायिक भवनको ढोका नखुलेको पनि १४ महिनाभन्दा धेरै भयो ।

काठेखोला गाउँपालिका–७ रेशमा रहेको डोटा देउराली सामुदायिक घरबास अघिल्लो माघबाट सञ्चालनमा आएको थियो । झण्डै १० महिनापछि सञ्चालनमा आएको घरबासले पुरानो लयमा नफर्किँदै कोरोना महामारीको दोस्रो लहर चल्यो । अहिले यहाँ घरबास सञ्चालनको त कुरै छाडौं छिमेकीसँगको भेटसमेत गर्न मिल्ने अवस्था छैन । घरबास रहेकै गाउँहरुमा कोरोना महामारी फैलिएको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको घरबास जिल्लाभर चर्चित र पहिलो घरबास हो । अतिथि सत्कार घरबासमा मङ्सिरपछि चैतको पहिलो सातासम्म एकाध आन्तरिक पर्यटक देखिन्थे । चैत लागेपछि भकुण्डे सुनसान छ । कोरोना महामारीको चपेटामा परेको पर्यटन क्षेत्रसँगै यहाँका घरबास परेका छन् । लामो समय सञ्चालनमा आउन नसकेका घरबासका ढोका बन्द गरेर सञ्चालकले अन्य पेशा गर्न थालेका छन् । “घरबासले आबद्ध परिवारको खर्च चलेको थियो, अहिले हात खाली छन्”, सिग्दी सामुदायिक घरबासका अध्यक्ष हीराबहादुर पुन भन्नुहुन्छ, “गाई बाख्रा पाल्न थालिएको छ, राम्रो हुँदै थियो, घरबास कोरोनाले थला पा¥यो ।”

घरबासमा आउने पाहुनाका लागि तयार भएको बाँकोको गुन्द्रुक कुहिएर गयो । स्थानीय जातका कुखुराका भाले सस्तो मूल्यमा बजारमा पुगे । कोरोना महामारीको समयमा सबैभन्दा धेरै पर्यटन क्षेत्र प्रभावित भएको सरोकारवाला बताउँछन् । “आय आर्जनको राम्रो माध्यम बन्दै थियो घरबास, तर अहिले बन्द गरेर राख्नुपरेको छ”, काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने भन्नुहुन्छ, “विकल्पबारे छलफल त हुन्छन् तर पाहुना राख्नैपर्ने, खानपान र बसउठ हुने भएकाले सम्भव देखिएन ।” रेशमा मात्रै तीनवटा घरबास सञ्चालनमा छन् ।

बागलुङमा दर्ता भएर सञ्चालनमा रहेका २८ वटा घरबास छन् । त्यसबाहेक केही घरबास खुलेर सञ्चालनको तयारीमा छन् । विशेष गरेर पर्यटनसँग जोडिएका घरबास धराशयी भएका हुन् । गण्डकी प्रदेश सरकारले यहाँका २८ घरबासमा पूर्वाधार निर्माणको लागि झण्डै रु तीन करोड खर्चिएको थियो । स्थानीय सरकार र स्वयं घरबास सञ्चालकको समेत गरेर रु २० करोडभन्दा धेरै लगानी रहेको स्वरोजगारीको क्षेत्रमा कोरोना महामारीको प्रभाव परेको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर