नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर कहिलेदेखि ओरालो लाग्ला, विज्ञ के भन्छन् — OSNepal

नेपालमा कोरोना सङ्क्रमण र मृत्युदर कहिलेदेखि ओरालो लाग्ला, विज्ञ के भन्छन्

LC (KTM) May 26, 2021 0

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभरि प्रतिबन्धात्मक कदमहरू जारी रहँदा अहिले पनि औसतमा दैनिक आठ हजार सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिड-१९ सँग सम्बन्धित कारणले दैनिक औसतमा १५० देखि २०० जनासम्मको मृत्यु हुने गरेको छ।

मङ्गलवारसम्म नेपालभरि एक लाख १७ हजार जनामा सक्रिय सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये एक लाख आठ हजार घरमै र ८,८३३ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

सीसीएमसीको प्रमुख नियुक्त बालानन्द शर्माका कोभिड नियन्त्रण योजना यस्ता
नेपालमा भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट कस्तो र कति चिन्ताजनक हो
कहिलेदेखि ओरालो लाग्ला?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल फैलिएका तीनवटा भेरिअन्टमध्ये बी.१.६१७.२ भेरिअन्ट मुख्य रूपमा फैलिएको छ।

तुलनात्मक रूपमा बढी सङ्क्रामक देखिएको उक्त भेरिअन्ट गत वर्ष भारतमा सबैभन्दा पहिला पुष्टि भएको थियो।

मानिसहरूको आवतजावत प्रभावकारी रूपमा नियन्त्रण नहुँदा र कतिपय सेवा तथा कार्यले निरन्तरता पाइरहँदा सङ्क्रमण दर अपेक्षाकृत रूपमा कम हुन नसकेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सोमवार गुनासो गरेका थिए।

उनका अनुसार आगामी चार सातामा सङ्क्रमण दर क्रमिक रूपमा घट्दै जान सक्ने सरकारको प्रक्षेपण छ।

नेपाल

पछिल्ला दिनमा सङ्क्रमण दर स्थिर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन्।

निषेधाज्ञा कडा हुन नसकेको स्वास्थ्य अधिकारीहरूको गुनासोबीच बढी सङ्क्रमण देखिएको काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गतेदेखि खाद्यान्न र किनारा पसल पनि बन्द गराउने गरी स्थानीय प्रशासनहरूले निर्णय गरेका छन्।

सङ्क्रमणदर घट्नेबारे के भन्छन् विज्ञ?
पछिल्लो समय सङ्क्रमित हुनेको सङ्ख्या केही घट्न थालेको देखिए पनि सङ्क्रमण फैलिने क्रम नरोकिएको अमेरिकाको मिनसोटा राज्यस्थित चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्का बताउँछन्।

“दुई साता पहिलाको भन्दा सङ्क्रमण दर केही घटेको हुनुपर्छ। तर सङ्क्रमण फैलिन चाहिँ रोकिएको छैन,” उनले भने।

“ओरालो लाग्न अझ समय लाग्न सक्छ किनभने लकडाउन गरिएको दुई हप्तापछि आएर सङ्ख्यामा अलि कमी आएको मात्र देखिन्छ।”

नेपालमा सङ्क्रमण घट्न थालेको भन्नलाई अहिले नै ठोस आधार नदेखिएको सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बताउँछन्।

कर्णाली प्रदेशका सबै जिल्लामा कोभिड बिरामीको ‘उपचार गर्न विशेषज्ञ चिकित्सक’
काठमाण्डू उपत्यकामा निषेधाज्ञा फेरि थपियो, खाद्यान्न र किराना पसल पनि बन्द
“केही दिनयता सङ्क्रमणको प्रवृत्ति हेर्दा अलि घट्न थालेको हो कि जस्तो देखिन्छ। तर परीक्षण नै कम गरेको हो कि भन्ने पनि छ। अतः घट्न थालेकै वैज्ञानिक रूपमा स्पष्ट आधार छैन,” उनले थपे।

ठ्याक्कै कति समयपछि नेपालमा सङ्क्रमण दर घट्छ भन्नेबारे प्रक्षेपण गर्न सकिने अवस्था नरहेको प्राध्यापक बस्न्यातको तर्क छ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार सङ्क्रमण उच्चबिन्दुमा पुगिसकेकै स्थानमा परीक्षण केन्द्रित भएकोले पनि पछिल्लो समय सङ्क्रमितको सङ्ख्या कम देखिएको हुन सक्छ।

“अहिले पनि धेरै ठाउँ छन् जहाँ परीक्षण पुग्न सकिरहेको छैन। त्यसैले फरकफरक ठाउँमा सङ्क्रमणको फरकफरक ट्रेन्ड हुन सक्छ,”उनले थपे।

नेपाल

मृत्युदर घट्न कति समय लाग्ला?
सङ्क्रमण दर घट्न थाल्दैमा सोही समयमा मृत्युदर नघट्न सक्ने विज्ञहरू बताउँछन्।

“पहिला सङ्क्रमण घट्छ र त्यो क्रमलाई जारी राख्न सकियो भने बिस्तारै मृत्युदर घट्न थाल्छ। ह्वात्तै घट्ने कुरा हुँदैन। सङ्क्रमणदर कम र त्यही बेला मृत्युदर पनि कम हुने हुँदैन,” प्राध्यापक बस्न्यात औँल्याउँछन्।

भाइरोलोजिस्ट डा. खड्का पनि त्यसमा सहमत देखिन्छन्। मृत्युदरमा कमी आउनलाई अझै समय लाग्ने उनी बताउँछन्।

“दुई घटना [सङ्क्रमण दर र मृत्युदर] बीच समयको अन्तर हुन्छ। शुरूवातमा सङ्क्रमण बढ्छ त्यसपछि त्यसका कारण हुने मृत्युदर बढ्छ।”

“अतः सङ्क्रमणको दर ओरालो लाग्न थाल्यो भने पनि त्यसको केही समयपछाडि मात्रै मृत्युदर घट्न थाल्छ,” उनी भन्छन्। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर