काठमाडौं, ३० कात्तिक- हठ-योग प्रचुर सम्भावनाले भरिएको हुन्छ । यदि यसलाई सही तरिकाले प्रसारित गरिने वा सिकाइने हो अनि सोहीअनुसार अभ्यास गरिने हो भने, यो विशाल सम्भावना बन्दछ । यतिखेर, हठ-योगलाई जताततै एक प्रकारको व्यायाम भनेर बुझिएको छ । यो धारणालाई परिवर्तन गर्नु निकै कठिन कार्य हो । हठ-योग भनेको तौल घटाउने, ढाड ठीक गर्ने वा स्वस्थ हुने बारेमा होइन । ती परिणामहरू मात्र हुन्, उद्देश्य होइनन् ।
व्यायाम त भर्खरै जन्मिएको सोच हो । पहिलेका पुस्ताहरूमा पहलवान् र योद्धाहरूले मात्र व्यायाम गर्दथे । अरू मानिसहरूले केवल काम गर्थे । पहिले एकदमै धेरै शारीरिक क्रियाकलापहरू हुने गर्थ्यो, जसकारण स्वाभाविक रूपमा मानिसहरू तन्दुरुस्त रहन्थे ।
योग भनेको प्राचीन कालदेखिको व्यायाम वा कसरतको रूप हो भन्ने विचारलाई मानिसहरूको दिमागबाट हटाउनु आफैँमा एउटा ठूलो कार्य हो । तर, यदि हामीले यो गरेनौँ भने, वास्तविक योग कहिल्यै हुनेछैन । उदाहरणको लागि, जब तपाईं सूर्य नमस्कार गर्नुहुन्छ, तपाईं आफ्ना मांसपेशीहरूमा ध्यान नदिनुहोस् । बरु, यो सौर्य प्रणालीमा भएको सम्पूर्ण ऊर्जाहरूको स्रोतसँग कसरी सङ्गति वा लयमा आउने भन्नेमा तपाईंको ध्यान केन्द्रित हुनुपर्छ । त्यस अवस्थामा पुग्न कति समय लाग्नेछ ? योगी बन्नको निम्ति कति समय लाग्छ ? यो एक क्षणमा हुन सक्छ, यो सहस्राब्दीमा (१००० वर्षमा) पनि हुन सक्छ वा यो कहिल्यै नहुन पनि सक्छ । सम्भवतः तपाईंले यो पनि सोध्न सक्नुहोला कि कसैसँग प्रेममा पर्न कति समय लाग्छ अथवा भक्त बन्नको निम्ति कति समय लाग्छ ? तपाईं भौतिक पक्षहरूको लागि मात्र समय निर्धारण गर्न सक्नुहुन्छ— जीवनका सुक्ष्म पक्षहरूको सन्दर्भमा होइन !
यदि तपाईंको लक्ष्य योग–शिक्षक बन्नु हो भने, साढे पाँच महिनाको समय उपयुक्त हुन्छ । तर, यदि तपाईंको लक्ष्य योगी बन्नु हो भने, यो साढे पाँच सेकेन्डमा पनि हुन सक्छ वा साढे पाँच जीवन-कालहरूसम्म पनि नहुन सक्छ । किनकि, यो भौतिक प्रकृतिको हुँदैन । प्रत्येक व्यक्तिले यसलाई कसरी घटित हुन दिन्छ भन्नेमा नै निर्भर गर्दछ ।
मेरो कामना छ कि कम्तीमा पनि एक योगी हुनुको तत्त्व मानिसहरूको जीवनमा आओस् । अन्यथा, जे एकदमै मूलभूत हो, त्यो व्यर्थ गइरहेको छ । आफ्नो शरीरलाई बङ्ग्याउँदा र बटार्दा शारीरिक रूपमा स्वस्थ रहन त सक्नुहोला, तर एक योगी हुनको निम्ति अरू थुप्रै कुराहरू संलग्न हुन्छन् । भौतिक शरीरभन्दा केही बढी हुनुको भाव अनुभव गर्नु महत्त्वपूर्ण कुरा हो । यदि तपाईं चौबिसै घण्टा त्यस अवस्थामा रहन सक्नुहुन्न भनेपनि, पूरै दिनको केही क्षणहरूमा तपाईं एक योगी हुनुपर्छ । यदि तपाईंले यसलाई जीवन्त राख्नुभयो भने, तपाईंले बुझ्न नसक्ने खालका कुराहरू, तपाईंले कहिल्यै अनुभव नगरेका कुराहरू तपाईंमाथि घट्नेछन् । यसको अर्थ के हो भने, अब तपाईंले जीवनको अर्को आयामलाई काम गर्ने अनुमति दिनुभएको हुन्छ ।
यदि तपाईं कुनै न कुनै तरिकाले योगी बन्नुभएन भने, जीवनले तपाईंसामु अनेक प्रकारका परिस्थतिहरू निम्त्याउनेछ । यसैकारण, अधिकांश मानिसहरू जीवनबाटै लुक्न रुचाउँछन् । जो मानिसहरू आफ्नो जीवनमा तीनजनाभन्दा धेरैसँग कुरा गर्न सक्दैनन्, बाटोमा हिँड्दाखेरी खुला हृदय लिएर हिँड्न सक्दैनन्, आफूले देखेका वा देख्न नसकेका सबैथोकलाई प्रेम गर्दै हिँड्न सक्दैनन्, उनीहरू अवश्य पनि जीवनबाट लुकिरहेका छन्— किनकि, मानिसहरू सुरक्षित हुन चाहन्छन् । बरु, कफन एकदमै सुरक्षित स्थान हो ।
योगी हुनु भनेको कफनबिनै बाँच्नु हो, जुन मानिसहरूले आफ्नो वरिपरि निर्माण गरिरहेका हुन्छन् । योग अर्थात् मिलन । यसको अर्थ के हो भने, तपाईंले भौतिक आयामका सिमाहरू भङ्ग गर्नुभएको हुन्छ, अनि अब तपाईंमा ब्रह्माण्डमा रहेका सबैथोकलाई स्पर्श गर्ने र अनुभव गर्ने सामर्थ्य हुन्छ । जबसम्म मानिसहरूले यो गुण आर्जन गर्दैनन्, उनीहरू कुनै न कुनै तरिकाले जीवनबाट पन्छिने प्रयत्न गरिरहेका हुन्छन् ।
तपाईं जीवनबाट सजिलै जोगिन सक्नुहुन्छ, तर तपाईं मृत्युबाट जोगिन सक्नुहुन्न— कोही पनि जोगिन सक्दैन । योगको सहायताले तपाईं केही बढी समय बाँच्न सक्नुहोला, तर मृत्युको बीमा (क्षतिपूर्ति) हुँदैन । यदि तपाईंले जीवन भनेको समयको एउटा सीमित अवधी हो भन्ने कुरालाई राम्रोसँग जान्नुभयो भने, के तपाईं जीवनबाट पन्छिन चाहनुहुन्छ, वा जीवनका सम्पूर्ण पक्षहरूको पहुँचमा रहन चाहनुहुन्छ ? जब म “सम्पूर्ण पक्ष” भनिरहेको छु, मानिसहरू सायद धुम्रपान, मदिरा, कामवासना, अनि यस्तै अन्य कुराहरू सोचिरहेका हुन सक्छन् । यी सबै बाध्यात्मक प्रवृत्तिका विभिन्न रूपहरू मात्र हुन् । जीवनका थुप्रै आयामहरू छन् । समय बितिरहेको छ भन्ने कुराप्रति तपाईं साँच्चिकै सचेत हुनुभयो भने, तपाईंमा योगी बन्ने गहिरो चाहना स्वतः जाग्दछ ।
भौतिक रूपमा चारैतिर यात्रा गरेर सम्पूर्ण ब्रह्माण्डलाई स्पर्श गर्ने प्रश्न नै उठ्दैन । सबैथोकलाई स्पर्श गर्ने र जीवनका सम्पूर्ण आयामहरूलाई जान्ने एकमात्र तरिका भनेको भौतिकता वा भौतिक पक्षका सीमाहरूबाट पर जानु हो । हठ-योगको सम्पूर्ण प्रक्रिया नै यसरी रचना गरिएको हुन्छ कि यसले तपाईंलाई केही क्षणको लागि भएपनि भौतिकताको सीमालाई भङ्ग गर्न अनि यसको बाध्यात्मक र चक्रिय (बारम्बार दोहोरिने) प्रकृतिबाट माथि उठ्ने सामर्थ्य प्रदान गर्दछ ।
अहिलेको अवस्थामा, म त भन्छु कि अधिकांश मानिसहरूका ९९% विचारहरू अर्थहीन हुन्छन्, किनकि ती सबै शरीरको बाध्यात्मक प्रवृत्तिको सेरोफेरोमा केन्द्रित हुन्छन् । तपाईंका विचारहरू आफूलाई कसरी जोगाउने, आफूलाई कसरी सुरक्षित राख्ने अनि आफूलाई कसरी आरामपूर्ण स्थितिमा राख्ने भन्नेबारे मात्रै केन्द्रित हुन्छन् । यदि तपाईंसँग शरीर नभएको भए, तपाईंको ध्यान समस्याहरूमा नभई सम्भावनाहरूमा केन्द्रित हुनेथियो । त्यसबेला एउटै मात्र प्रश्न उब्जिने थियो— ” मनुष्यको लागि सबैभन्दा उच्च सम्भावना के हो ?”
तपाईंले यो एउटा विचारलाई आफ्नो दिमागबाट हटाउनै पर्छ— “मलाई के हुन्छ ?” त्यसको चिन्ता नगर्नुहोस् । तपाईंलाई के हुन्छ ? तपाईं एकदिन मर्नुहुनेछ ! यो नै जीवनको अन्तिम रहस्य हो । यदि तपाईंले आफूबारे रहेको यो चिन्ता त्याग्नुभयो भने, तपाईंको जीवनमा तपाईंको शरीर एउटा सोपान (भऱ्याङ) बन्नेछ । दुर्भाग्यवश, मानिसहरूले यो शारीरिक प्रणालीलाई सम्भावना बनाउनुको सट्टा अवरोध बनाइरहेका हुन्छन्, किनकि उनीहरूले आफ्नो शरीरसँग पहिचान गाँसेका छन् । यदि तपाईंले यो एउटा विचार हटाउने हो भने, तपाईं स्वयं असीम सम्भावना बन्नुहुनेछ । -सदगुरुको प्रवचनमा आधारित