जसपाका अध्यक्ष ठाकुरले सोधे यादवलाई सातबुँदे स्पष्टीकरण — OSNepal

जसपाका अध्यक्ष ठाकुरले सोधे यादवलाई सातबुँदे स्पष्टीकरण

LC (KTM) May 26, 2021 0

काठमाडौँ, १२ जेठ – जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।

पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको बारबार्हीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।

स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई निष्कासन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट दायर गर्न गएको, एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।

त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर