काठमाडौ २४ कात्तिक । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउएका छन् ।
गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका हुन् ।
“सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, नेता सिंहले भने । साथै, उनले नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन गर्न नहुने उल्लेख गरेका थिए ।
पाँच दलीय गठबन्धन समन्वय समिति आवश्यक नभएको बताउँदै उनले गठबन्धन सरकारको मुख्य काम संविधानलाई सही दिशामा ल्याएर तीनै तहको निर्वाचन समयमा सम्पन्न गर्नु रहेको बताए । कांग्रेसले १४औँ महाधिवेशनबाट पार्टीलाई विधिसम्मत नेतृत्व गर्ने सक्षम उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो ।
नेता सिंहले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि स्व सिंहले नेपाली राजनीतिमा ६ दशक लामो खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै देशमा प्रजातन्त्र स्थापनाका लागि स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।